संस्था परिचय

पृष्ठभुमी:

सिन्धुली जिल्ला २६ं ५५” देखी २७ं २२” उत्तरी अक्षाँस देखि ५ं १५” देखी ६ं २५” पुर्वी देशान्तरमा अवस्थित छ । भित्रि मधेसको चुरे भाग देखि महाभारत क्षेत्रलाई पनि समेटेको यस जिल्लाको कुल क्षेत्रफल २४९१ वर्ग कि.मि. रहेको छ । यो जिल्लाको उचाई समुन्द्र सतह देखि ३०५ मिटर देखि २७८७ मिटरको विचमा रहेको छ । सिन्धुली जिल्लालाई प्रशासनिक हिसावले २ निर्वाचन क्षेत्र, २ नगरपालीका र ७ वटा गाउँपालिकाहरुमा विभाजन गरिएको को छ । जुनारको लागी प्रख्यात मानिने यो जिल्ला ऐतिहासिक सिन्धुलिगढि क्षेत्रले वीरतापुर्बक नेपाली सेनाले अंग्रेजका फौजलाई लखेटेको स्मरण गराउंदछ । नेपालको मान चित्रमा काठमाण्डौंबाट पुर्ब दक्षिण भागमा पुर्ब पश्चिम लामो आकारमा फैलिएको सिन्धुली जिल्लाको दशवटा जिल्ला संग सिमाना जोडिएकोछ । पुर्बमा ओखलढुङ्गा उदयपुर, उत्तरमा रामेछाप, ओखलढुङ्गा, पश्चिममा रौतहट, मकवानपुर, काभ्रेपलान्चोकसंग सिमा जोडिएको छ भने दक्षिणमा रौतहट, सर्लाहि, सिराहा, महोत्तरी र धनुषा जस्ता जिल्ला संग सिमा जोडिएको छ । वि.पि.राजमार्ग, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग जस्ता सडक सन्जालहरुले यस लिल्लाको भुगोललाई समेटेको छ । यस जिल्लामा सबै भन्दा बढि तामाङ्ग जातीहरु रहेकाछन् भने दनुवार माझी, बोटे, कुमाल, मगर जस्ता जातीहरुको पनि मुख्य बसोबास स्थानको रुपमा रहेको यो जिल्लामा लोपोन्मुख हायु जाती पनि वाक्लो उपस्थिति पाउन सकिन्छ ।

परिकल्पना :

जिल्ला भित्र रहेका विपन्न तथा पछाडी पारिएका ग्रामिण तथा शहरी भूमिहिन र गरीव समुदायको आर्थिक, सामाजिक एंव दिगो विकाशका लागि एक अभिन्न र प्रभावकारी सेवा व्यवसायको रुपमा विकाश हुदैं आएको सहकारी व्यवसायको माध्यमवाट परम्परागत निर्वाहमुखि कृषि तथा पशुपालन पेशालाई व्यवसायीक तथा निर्यातमुखि वनाउन, शिक्षा स्वास्थ्यमा लगानी गर्न सक्षम वनाउन तथा विविध शिर्षकमा कर्जा लगानीको व्यवस्था तथा सामान्य आर्थिक, भौतिक आवश्यकता पुरा गर्न सा–सानो व्यपार व्यवसाय, उद्योग संचालन गरि विपन्न समुदायका व्यक्तिहरुलाई सहकारिताको माध्यमवाटै बजारमा प्रतिस्थापित गर्न समूह परिचालन कार्यक्रम तथा अन्य वित्तिय सेवा, व्यवसायमुखि कार्यक्रम, सहकारी उपभोक्ता भण्डार, सामुहिक तरकारी खेती र पशुपालन लगायतका कार्यक्रम संचालन गर्दै सवल र दिगो वित्तिय सहकारी वनाउने परिकल्पनाका साथ शिद्धवावा, कालीमाई, कमलामाईको नगरीलाई आफ्नो कार्यक्षेत्र बनाउदै यस सिन्धु वचत तथा ऋण सहकारी संस्था लिमिटेड सिर्जना गरिएको हो ।

संस्थाको स्थापना:

“समुन्त भविश्यको लागि संयुक्त अभियान, सिन्धुमा निरन्तर वचत हाम्रो दरिलो पहिचान” भन्ने मुल नाराका साथ सिन्धुली जिल्लाको कमलामाई न.पा.-६ धुराबजार मा मुख्य कार्यालय रहने गरी तथा कमलामाई नगरपालिका भरि वित्तिय संस्थाको सेवा नपाई जीविकोपार्जनको लागि आफ्नो पेशा, व्यवसाय संचालन गर्न कठिनाई, शिक्षा, स्वास्थ्यमा कम लगानी, वेरोजगारीको समस्या र आकस्मिक घटनाहरुमा आइपर्ने आर्थिक समस्याले गर्दा ज्यानै गुमाउनु परेका घटना तथा साहु महाजनको शोषणवाट जीवनस्तर कष्टकर वनेको कारणले स्थानिय स्तरमा दिगो सक्षम वित्तिय संस्थाको आवश्यकता महसुस गरि २०६५ साल असोज १८ गते जिल्ला डिभिजन सहकारी कार्यालय धनुषामा विधिवत रुपमा दर्ता भई यसको जन्म भएको हो । सहकारी ऐन २०४८ अनुसार द.नं. २८/०६५/०६६ कायम भई स्थापित यस संस्थाले सदस्यहरुमा वचत तथा ऋणको कारोवार संचालन गर्न पाउने कानुनी अधिकार प्राप्त गरेको छ । यस संस्थाले वित्तीय कारोबार गर्नको लागि आन्तरिक रजस्व कार्यालय जनकपुरबाट स्थाई लेखा नं. ६०१६५१८०१ समेत प्राप्त गरेको छ ।

समावेशी एवं प्रविधि यूक्त सेवा विस्तार गरी समृद्ध समाजको निर्माण गर्ने उदेश्यका साथ सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउन संस्थाले मूख्य रुपमा व्यक्तिगत तथा समूहगत वचत तथा ऋणका कार्यक्रम, सदस्य जीवन सुरक्षंण संचालन गरि आर्थिक, सामाजिक, स्वास्थ्य तथा वातावरणीय क्षेत्रमा उल्लेख्य उपलब्धी हासिल गर्ने उदेश्यका साथ ३० जना सदस्यहरुवाट रू. ३०,०००।– शेयर पूजी संकलन गरि कारोवार शूरु गरिएकोमा हाल करोडौमा रुपान्तरित छ । कमलामाई नगरपालिका भित्र कार्यक्षेत्र रहेता पनि कमलामाई नगरपालिका ६ धुरावजारको मनिसहरुको सकृयततामा दर्ता भएको यस संस्थामा हाल सम्म भएका २३६८ जना सदस्यहरुको उत्साहजनक सहभागिता भई सेवा तथा प्रतिफल समेत अधिकतम वितरण गर्न सकिएकोले संस्था र यसको कार्यक्रमहरुको औचित्य प्रमाणित भएको छ ।

उपसंहार:

आफ्नो यथासक्य जेथा लगाएर आफनो आर्थिक भविष्य र सामाजिक विकासमा सहयात्री बन्ने संकल्प गर्नु भएका सदस्य महानुभावहरुले संस्थाको नीति , र कार्यविधि बनाउने विषयमा गम्भिर भई यो संस्थालाई सांच्चै सफल सहकारीको रुपमा विकास गर्न सदभाव, मेहनत र लगाव भएका सदस्यहरुको सस्थालाई अझ बढी खांचो छ । संस्थाको नितिलाई अझै गुणात्मक रुपमा कार्यान्वयन गर्नका लागि संस्थाका स्वयम, निर्णयकर्ता तथा न्यायाधिशका रुपमा रहनु भएका सदस्य महानुभावहरु निश्चय पनि अत्यन्त गम्भिर र जिम्मेवार हुनुहुन्छ नै । सहकारीलाई परस्पर सेवा, आपसी लाभ र सामाजिक उत्तरदायित्व अनि विकासको पर्यायको रुपमा अघि बढाउन हामी सवै प्रतिवद्ध बनौं । आगामी दिनमा संस्थाले हाल सम्म हासिल गरेका उपलव्धिहरुलाई संस्थागत गर्दै, समग्र सञ्चालन तथा व्यवस्थापनलाई सुदृढ र जोखिमरहित बनाउने, अवसरहरुको सदुपयोग र चुनौतिहरुसंग सामना गर्ने सामर्थ्यताको विकासमा हामी सबै सदस्यहरु एकता र उच्च प्रतिवद्धतासाथ अझै क्रियाशिल हुनु जरुरी छ ।